मुहम्मद (सल्ल.) को परिचय
Muhammad Peace be upon Him.

मुहम्मद (सल्ल.) को परिचय

“गोरालाई कालोमाथि, कालोलाई गोरामाथि, अरबलाई गैर अरबमाथि, गैर अरबलाई अरबमाथि कुनै श्रेष्ठता प्रदान गरिएको छैन । सबै आदमका सन्तान हुन् र मानवको नाताले सबै बराबर छन् ।”
मानव समानताको यो महान विचार समस्त मानवजातिका लागि ईश्वरका तर्फबाट पठाइएका अन्तिम ईशदूत हजरत मुहम्मद (सल्ल.) को हो । सन् ५७१ ई. मा अरबको प्रसिद्ध शहर मक्कामा जन्मिनु भएको उहाँ (स.) लाई ४० वर्षको उमेरमा अल्लाहले आफ्नो सन्देष्टा बनाए र आफ्नो पवित्र वाणी कुरआन वह्य (प्रकाशना) द्वरा उहाँ (सल्ल.) माथि अवतरण गरे । अल्लाहका ईशदूत भएपछि जीवनका बाँकी समय अर्थात २३ वर्षसम्म उहाँले मानिसहरुलाई सत्य धर्म (इस्लाम) तर्फ आह्वान गरिरहनुभयो र अल्लाहका सन्देश सुनाउँदै गर्नुभयो । सन् ६३२ ई. मा आफ्नो मिसन पुरा गरिसकेपछि उहाँको स्वर्गवास भयो । आज विश्वको २ अरबभन्दा वढी जनसंख्या उहाँ (सल्ल.) लाई आफ्नो आदर्श र मार्गदर्शक स्वीकार गरी उहाँको अनुसरण गर्ने प्रयत्न गरिरहेका छन् । उहाँ (सल्ल.) का अनुयायीहरुको संख्या दिन–प्रतिदिन वृद्धि हुदै गइरहेको छ ।
ईशदूतत्वको उद्देश्य
हजरत मुहम्मद (सल्ल.) को ईशदूतत्वको मूल उद्देश्य “समाज सुधार” थियो । तर यो “समाज सुधार” भिन्न थियो, जसको प्रयत्न समय–समयमा जन्मिएका अन्य समाज सुधारकहरुले गरिरहेका थिए । यो “समाज सुधार” को रुपरेखा स्वयं ईश्वरद्वारा प्रदान गरिएको थियो । यसमा मानिसको आस्था र विचारधारा पनि लिएर पूरै जीवनलाई पूर्णरुपमा परिवर्तन गर्ने अत्यन्त कठिन कार्यमाथि हजरत मुहम्मद (सल्ल) लाई नियुक्ति गरिएको थियो । कुरआनमा यसबारे यसरी वर्णन गरिएको छ,
“निस्सन्देह हामीले आफ्ना रसूलहरूलाई स्पष्ट प्रमाणहरू दिएर पठायौं र तिनीहरुका साथमा ग्रन्थ एवं तराजु अवतरण गर्यौं ताकि मानिसहरू निसाफमा कायम रहून् ।” (कुरआन ५७ः२५)
मानव जीवनका हरेक क्षेत्रमा आएका विकृतिहरुलाई पूर्ण रुपमा समाप्त गरिदिने र हरेक क्षेत्रमा न्याय र इन्साफको मार्गमाथि डोर्याउनु नै हजरत मुहम्मद (सल्ल.) को जीवनको मूख्य उद्देश्य थियो ।
तत्कालिन समाजको दयनीय स्थिति
उहाँ (सल्ल.) माथि राखिएको जिम्मेवारीको महत्व र आवश्यकताहरुलाई पूर्ण रुपमा त्यतिखेरसम्म बुझ्न सकिदैन जबसम्म त्यस समय पूरै संसार र विशेष गरी अरबमा फैलिएका अराजकतामाथि एक दृष्टि गोचर गरिदैन । यसलाई निम्न बुँदाको माध्यमबाट विश्लेषण गर्न सकिन्छ ।
१. राजनैतिक व्यवस्थाको अभाव थियो र प्रत्येक व्यक्तिले आफ्नो अवश्यकता अनुसार कानून बनाउथे । समुदायमा आपसी लडाईहरु सयौं वर्षसम्म चलिरहन्थे ।
२. व्याज र दास–प्रथाले धनीलाई गरिबमाथि अन्याय तथा अत्याचार गर्न पूर्ण छुट दिएको थियो । दासहरुलाई बस्तुको रुपमा हेरिन्थ्यो र उनीहरुलाई समाजमा कुनै अधिकार प्राप्त थिएन ।
३. महिलाहरुको अवस्था अत्यन्त दयनीय थियो र छोरीहरुलाई जीवितै धर्तिमा गाडिन्थ्यो ।
४. जाँड–रक्सी, जुवा, व्यभिचार र लुटपाटको बजार तातो थियो ।
५. शिक्षाको अभाव थियो र मानिसहरु वास्तविक ईश्वरको उपासना छोडेर मूर्ति–पूजामा लिप्त थिए । हरेक समुदायका छुट्टा–छुट्टै उपास्य थिए ।
त्यस समय भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र नेपालको अवस्था पनि एकदमै दयनीय थियो । वर्ण–व्यवस्थाले समाजलाई जातिको आधारमा विभाजित गरेको थियो र तल्लो जातिका मानिसहरु माथिल्लो जातिका मानिसहरुको अत्याचारको शिकार थिए । महिलाहरुको स्थिति अत्यन्तै दयनीय थियो र सती–प्रथाले उनीहरुलाई बाँच्ने अधिकारबाट वञ्चित गरेको थियो । शुद्रहरु जस्तै महिलाहरुलाई पनि धार्मिक पुस्तक छुने अधिकार थिएन । ईश्वरको सट्टा सृष्टिको उपासना हुन्थ्यो र मानिसहरुले जनावर, वृक्ष तथा चन्द्र–सूर्य आदिको पूजा गर्थे । यस्तो जटिल समस्याहरुमा जकडिएको मानव–जातिको मार्गदर्शनको लागि ईश्वरले आफ्नो दूत हजरत मुहम्मद (सल्ल.) लाई पठाए ।
समाज सुधार कार्यको आरम्भ
हजरत मुहम्मद (सल्ल.) ले समाज सुधारको आफ्नो कार्यको आरम्भ मानिसहरुलाई आफ्नै हातद्वारा निर्मित उपास्यलाई छोडेर संसारको वास्तविक प्रभु, मालिक, पालनकर्ता, सृष्टिकर्ता एक मात्र ईश्वरको उपासना गर्ने आह्वानबाट गर्नुभयो ।
“हे मानव ! आफ्ना त्यस ‘रब’ (पालनकर्ता) को उपासना गर जसले तिमी र तिमीभन्दा अघिका मानिसहरूको सृष्टि गरे । आशा छ कि तिमीहरू (नरकबाट) बच्न सक्नेछौ ।” (कुरआन २ः२१)
उहाँ (स.) ले त्यस पालनकर्ताको उपासन गर्न आह्वान गर्नुभयो जुन अघि र पछिका मानिसहका सृष्टिकर्ता हुन् । अनि मानिसहरुलाई बताउनुभयो कि मृत्यु पश्चात सबैले ईश्वर समक्ष उपस्थित भएर जीवनभरि आफूले गरेको सम्पूर्ण कार्यको हिसाब दिनुपर्ने छ । वास्तविक सफता त्यो नै हो कि मानव नर्कको आगोबाट बचोस् र स्वर्गमा प्रवेश गर्न पाओस् ।
हजरत मुहम्मद (सल्ल.) लाई थाहा थियो कि मानिसको हृदय परिवर्तन नभएसम्म र स्वयं आफूलाई ईश्वर समक्ष उत्तरदायी नसम्झेसम्म समाज सुधारको कुनै पनि प्रयास सफल हुदैन । उहाँ (सल्ल.) भन्दा पहिले जति पनि सन्देष्टाहरु संसारमा आए सबैले यहि सत्यमार्ग तर्फ आह्वान गरेका थिए र ईश्वरसंग मानवको बिग्रिएको सम्बन्धलाई सुधार्ने शिक्षा दिएका थिए ।
उहाँ (सल्ल.) द्वारा प्रस्तुत गरिएका शिक्षाहरु ईश्वरद्वारा अवतरित वह्य (प्रकाशना) माथि आधारित थिए र मानिसहरु समक्ष ईश्वरको सन्देश पुरयाउनका लागि उहाँ (सल्ल.) ले सक्दो प्रयास गर्नुहुन्थ्यो ।
आफ्नो उद्देश्यमा सफलता
मानव इतिहासमा हजरत मुहम्मद (सल्ल.) ले समाज–सुधारमा प्राप्त गर्नु भएको सफलता जस्तो सफलता अरु कसैले प्राप्त गरेको कुनै पनि अर्को उदाहरण पाइदैन । यहि कारण हो कि सन् १९९२ मा अमेरिकी लेखक माइकल हार्टले आफ्नो प्रसिद्ध पुस्तक “इतिहासका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरु” मा मुहम्मद (सल्ल.) लाई प्रथम स्थान मात्रै दिएनन् उहाँको बारेमा यो पनि लेखे कि इतिहासमा धार्मिक एवं सांसारिक क्षेत्रमा सर्वोच्च सफलता प्राप्त गर्ने व्यक्ति एक मात्र मुहम्मद (सल्ल.) नै हुन् ।”
उहाँ (सल्ल.) ले एकातर्फ मानव जीवनको सफलताको नयाँ परिभाषा दिनुभयो, समाज सुधारका नयाँ आधार बताउनुभयो भने अर्को तर्फ एउटा यस्तो आन्दोलनको स्थापना गर्नुभयो जसले अत्यन्त तीव्र गतिले उहाँ (सल्ल.) को ६३ वर्षीय जीवनकालमा नै पूरै अरबको स्थितिलाई परिवर्तन गरिदियो जसको अनुसरण संसारले अहिलेसम्म गर्दैछ । उहाँ (सल्ल.) द्वारा प्रस्तुत ईश्वरी सन्देशबाट प्रभावित हुनेहरुमा अरबका पूर्ति पूजक मात्र थिएनन् मदिनाका यहुदी, रोम साम्राज्यका ईसाइ र इरानका पारसी पनि थिए । जो कोहि पनि उहाँ (सल्ल.) को सन्देश सुन्थ्यो प्रभावित नभइकन रहन सक्दैनथ्यो ।
उहाँ (सल्ल.) का शिक्षाको आधारमा अबरमा एउटा नयाँ सभ्यताको आरम्भ भयो । एउटा यस्तो सभ्यता जसमा कसैमाथि अन्याय र अत्याचारको कुनै ठाउँ थिएन । महिलाहरुलाई पुरुष सरह नै अधिकार दिइयो । मानव इतिहासमा पहिलो पटक महिलालाई पैतृक सम्पतिमा अधिकार प्राप्त भयो जहाँ स्त्रीहरुलाई आफ्नो सुरक्षाको भयले सताउदैनथ्यो । गोरा र काला सबै बराबर थिए जहाँ जातिको आधारमा मानिसहरुलाई विभाजनको कुनै संभावना थिएन । समाजको हरेक क्षेत्रमा नैतिकताको बोलवाला थियो । गरिबमाथि शोषणको कुनै स्थान थिएन र उनीहरुलाई व्याजको जालमा फसाउने कुनै बाटो थिएन । बालिका भ्रुण–हत्याको बारेमा कोहि सोच्न पनि सक्दैनथ्यो । यदि कसैसंग कुनै अपराध भएमा स्वयं सजायँको लागि हाजिर भइहाल्थ्यो जहाँ संकुचित राष्ट्रवादको मात्र नभई सम्पूर्ण मानवताको हितको कुरा गरिन्थ्यो । गास, बास र कपासको कुनै समस्या थिएन । शासकले स्वयंलाई सेवक सम्झन्थे जहाँ मानव मानवको दास नभएर ईश्वरका भक्त थिए ।
मुहम्मद (सल्ल.) का शिक्षाहरुमा आधारित यस्तो सभ्यतालाई कुनै भौगोलिक रेखाहरुभित्र सिमित राख्न सकिदैन । आज पनि हरेक व्यक्तिले यस्तै आदर्शको अपेक्षा गर्छन् र त्यस समय पनि गर्दथे । यो सभ्यता अरबको सिमाहरुलाई पार गर्दै अन्य देशहरुमा पनि तिब्र गतिमा फैलिदै गयो । लगभग एक हजार वर्षसम्म पूरै विश्वको लागि आदर्श बनेर काम गर्दै रह्यो ।
परिवर्तनका केहि झलकहरु
१. मानव–समानताः सबै मानव एक आमा–बुवाका नै सन्तान हुन् र सबै बराबर छन् । जाति, रंग, भाषा अथवा धर्मको आधारमा कोहि ठूलो र सानो हुदैन । हजरत मुहम्मद (सल्ल.) ले यो सत्यलाई शिक्षामा मात्र सिमित राख्नु भएन, यसलाई समाजमा लागु तथा स्थापित गरेर देखाउनु भयो । उहाँ (सल्ल.) ले वर्ग र जातिको आधारमा विभाजित गर्ने सबै सिमाहरुलाई समाप्त पार्नुभयो र मानवताको यस्तो सन्देश दिनुभयो जसबाट सबै भेदभाव समाप्त भयो । ईश्वरले उहाँ (सल्ल.) को माध्यमबाट सम्पूर्ण मानवलाई निम्न सन्देश दिए–
“हे मानव ! हामीले तिमीहरूलाई एक पुरुष तथा एक स्त्रीबाट सृष्टि गर्यौं र तिमीहरूका विभिन्न जाति तथा बंश बनायौं ताकि तिमीहरू एक अर्कालाई चिन्न सक । वास्तवमा अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरूमध्ये सबैभन्दा अधिक ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ तथा सुसूचित छन् ।” (कुरआन ४९ः१३)
हजरत मुहम्मद (सल्ल.) का नजिकका सहयोगीहरुमा हजरत बिलाल (रजि.) हफ्शी समुदायका थिए र हजरत सलमान (रजि.) फारसी समुदायका थिए । यो उहाँ (सल्ल.) को शिक्षाको असर थियो जसले गर्दा अरबबाट दास–प्रथा १४४० वर्ष पहिले नै समाप्त भयो जबकि अमेरिका जस्तो देशमा आजभन्दा करिब सय वर्ष पहिलेसम्म दास–प्रथा प्रचलित थियो ।
२. धार्मिक स्वतन्त्रताः हामी सबैलाई सृष्टि गर्ने ईश्वर चाहन्छन् कि सबै मानिसहरु उनीद्वारा प्रदान गरिएको जीवन व्यवस्था (अर्थात इस्लाम) लाई स्वीकार गरुन् । तर यसको लागि उनले मानिसहरुलाई बाध्य गरेका छैनन् किनभने ईश्वरले भनेका छन्–
“(इस्लाम) धर्ममा कुनै जबरजस्ती छैन ।” (कुरआन २ः२५५)
हजरत मुहम्मद (सल्ल) ले आफ्ना अनुयायीहरुलाई सबै धर्महरु र उनका महापुरुषहरुको आदर गर्ने शिक्षा दिनुभएको छ ।
“याद राख ! जो कोहि व्यक्ति कुनै गैर मुस्लिममाथि अत्याचार गर्छ वा उसलाई अधिकारबाट वञ्चित गर्छ र त्यसमाथि यस्तो बोझ हाल्छ जसलाई उसले उठाउन सक्दैन र त्यसको अनुमति बिना कुनै वस्तु उसबाट खोस्छ भने म परलोक (कयामत) का दिन त्यो अत्याचारीको विरुद्ध उभिने छु ।” (हदिस)
मदिनामा नजरानका ईसाइहरुको प्रतिनिधि मण्डललाई हजरत मुहम्मद (सल्ल.) ले मस्जिदमा आफ्नो धर्म अनुसार उपासना गर्ने अनुमति मात्र दिनु भएन, उनीहरुलाई मानिसहरु समक्ष आफ्नो कुरा राख्ने अवसर पनि दिनुभयो । यो मुहम्मद (सल्ल.) को धार्मिक स्वतन्त्रतामाथि आधारित शिक्षाको प्रभाव थियो जसले गर्दा कैयौ देशहरु सयौ वर्षसम्म मुस्लिमहरुको अधिनमा रहे तर त्यहाँका बासिन्दाहरुलाई पूर्ण रुपमा आफ्नो धर्ममाथि आस्था राख्ने स्वतन्त्रता प्राप्त थियो ।
३. महिलाहरुको अधिकारः इस्लामभन्दा पहिले महिलाहरुलाई हिन–दृष्टिले हेरिन्थ्यो । छोरी जन्मिएको खण्डमा परिवारका व्यक्तिले आफूलाई लज्जित महसुस गर्थे र यो लज्जाबाट बच्नको लागि उसलाई जीवितै धर्तीमुनि गाडिदिन्थे । हजरत मुहम्मद (सल्ल.) ले यो कूरूर र अमानवीय प्रथाको अन्त्य गर्नुका साथै महिलाहरुलाई त्यो अधिकार पनि दिलाउनु भयो जुन तिनीहरुलाई त्यस अघि कहिले प्राप्त भएको थिएन ।
विवाहमा निर्णयको अधिकार, सम्बन्ध विच्छेदको अधिकार, सम्पत्ति र पैतृक सम्पत्तिको अधिकार, शिक्षा ग्रहण गर्ने अधिकार, दोसो पटक विवाह गर्ने अधिकार, परिवारको आर्थिक जिम्मेवारीबाट छुट, उनीमाथि झूठो आरोप लगाउनेमाथि सजायँको प्रावधान ।
यो कुरा विचारणीय छ कि हजरत मुहम्मद (सल्ल.) द्वारा १४४० वर्ष पहिले महिलाहरुलाई दिइएको अधिकारहरु अन्य देशहरुमा बीसौ शताब्दीमा मात्र प्राप्त भयो । महिलाहरुलाई दिइएका यी अधिकारहरुबाट प्रभावित भएर आज पनि इस्लाम स्वीकार गर्नेहरुमा प्रायजसो महिलाहरु नै हुने गर्दछन् ।
४. नैतिकताको स्थापना ः हजरत मुहम्मद (सल्ल.) ले भन्नुभएको छ, नैतिकताको परिभाषा समय सापेक्ष परिवर्तन हुदैन । १४४० वर्ष पहिलेको अनैतिकता आजको नैतिकता बन्न सक्दैन र नैतिकता राष्ट्र र देशमाथि निर्भर हुदैन । उनीहरुलाई नैतिकताको यस्तो सिद्धान्त सिकाउनुभयो जुन मानवताको लागि सधै वैध रहने छ । इस्लाममा नैतिकताको मौलिक आधार भनेको “संसारमा जे जति छन् सबैलाई रचना गर्ने, चलाउने र मानिसहरुको पानलपोषण गर्ने ईश्वर एक मात्र छन् ।” यस कारण सम्पूर्ण मानवजाति ईश्वरका भक्त हुन र उनीहरुको संसारिक जीवनको एक मात्र उद्देश्य ईश्वरले दिएका मार्गदर्शन अनुसार जीवन निर्वाह गर्नु हो । ती सबै कुरा नैतिक हुन् जसलाई उनले गर्ने अनुमति प्रदान गरेका छन् र ती सबै कुरा अनैतिक हुन् जसलाई गर्नबाट उनले मनाही गरेका छन्, चाहे पूरै विश्वभरिका मानवले त्यो कार्य गरिरहेका होउन् । झूठ, धोखा, भ्रष्टाचार, बलात्कार, अत्याचार, हत्या, ब्याज खानु, भ्रष्टाचार र ठूलाबडाको अनादर इत्यादि कर्म सधै अनैतिक नै रहेका छन् र रहने छन् । इमानदारी, सत्य बोल्नु, इन्साफ, ठूलाबडाको आदर र अरुको जीवनको रक्षा गर्नु सधै नैतिक कर्म रहेका छन र रहनेछन ।
हजरत मुहम्मद (सल्ल.) ले नैतिकतालाई परिभाषित मात्र गर्नु भएन त्यसलाई पहिचान गर्ने आधार पनि बताउनुभयो । जसको मद्दतबाट मानवले स्वयंलाई पथभ्रष्टताबाट बचाउन सक्नेछ ।
“सत्मार्गको अनुसरण गर किनभने यो नै सिधा बाटो हो जुन स्वर्ग तिर लैजान्छ ।” (हदिस)
५. राजनीतिमा आदर्शहरुको पालनाः राजनैतिक व्यवस्थामा सुधार नभएसम्म समाज–सुधारको कुनै पनि आन्दोलन सफल हुन सक्दैन । यहि कारणलाई ध्यानमा राखेर मुहम्मद (सल्ल.) ले पूर्ण समाज–सुधारको रुपरेखामा राजनीतिलाई पनि समावेश गर्नुभयो ।
उहाँ (सल्ल.) ले बताउनुभयो कि ईश्वरी जीवन–व्यवस्थाले मानव जीवनको हरेक क्षेत्रमा मार्गदर्शन गर्दछ चाहे त्यो आर्थिक क्षेत्र होस् वा राजनैतिक । उहाँ (सल्ल.) ले यो पनि भन्नुभयो कि मनुष्यले कहिले पनि निष्पक्ष भएर कानून बनाउन सक्दैन । मनुष्यलाई सृष्टि गर्ने ईश्वर नै छन् जो पूर्णरुपबाट निष्पक्ष छन् र मानिसको आवश्यताहरुबाट परिचित छन् । उनलाई मात्र थाहा छ कि कुन कुरा मानिसको लागि लाभदायक छ र कुन हानिकारक । वास्तविक राजनीति त यो हो कि मानवले स्वयं कानून बनाउनुको सट्टा ईश्वरीय कानूनलाई कार्यन्वयनमा ल्याउने प्रयास गरोस् । शासक वास्तवमा जनताको सेवक हुन्छ । यो उहाँ (सल्ल.) को भनाई मात्र रहेन उहाँ (सल्ल.) ले यो आदर्श अनुसार आफ्नो जीवन निर्वाह गरेर पनि देखाउनुभयो ।
उहाँ (सल्ल.) अत्यन्त सादा जीवनयापन गर्नुहुन्थ्यो । भुईमा सुत्नु हुन्थ्यो र रुखा–सुखा खाएर बस्नुहुन्थ्यो । उहाँको कपडामा टालो लगाइएको हुन्थ्यो र उहाँको घरमा सुख सुविधाको कुनै पनि वस्तु हुदैनथ्यो । धेरै पटक यस्तो अवस्था पनि आयो कि उहाँ (सल्ल.) को घरमा कैयौ दिनसम्म अन्नको अभावका कारण खाना बनेन । उहाँ (सल्ल.) स्वर्गवास भए पछि उहाँ (सल्ल.) का अनुयायीहरुले पनि उहाँ (सल्ल.) को आर्दशको पालना गरे । एक पटक एक राजदूत इस्लामी शासक हजरत उमर (रजि.) संग भेट्न आउदा उहाँलाई भुईमा सुतेको अवस्थामा पाए ।
ईशदूत हजरत मुहम्मद (सल्ल.) का सन्देश
”कुनै व्यक्तिको मृत्यु यो अवस्थामा भयो कि ऊ ईश्वरसंग अरु कसैलाई साझेदार बनाएको थियो भने त्यो नर्कमा जाने छ ।”
“यदि तिमीले आमा बुबाको सेवा गर्यौ, उनीहरुलाई खुशी राख्यौ, उनीहरुको आज्ञापालन गर्यौ भने स्वर्गमा जाने छौ । यदि उनीहरुलाई दुःख दियौ, उनीहरुको मन दुखायौ, उनीहरुलाई छोड्यौ भने नर्कको पात्र बन्ने छौ ।”
“ईश्वरको अवज्ञामा कुनै पनि व्यक्ति (चाहे आमा बुबा नै किन नहोस्) को आज्ञापालन गर्न निषेध छ । ”
“तिमीहरुमध्ये सबैभन्दा असल (राम्रो) व्यक्ति त्यो हो जो आफ्ना पत्नीहरुको साथमा राम्रो भन्दा राम्रो व्यवहार गर्दछ ।”
“अत्याचारी, कुरूर र जालिम शासकको सामु हक (सत्य, न्यायनिष्ठ) कुरा गर्नु (सत्यको आवाज उठाउनु) सबैभन्दा ठूलो जिहाद (धर्मयुद्ध ) हो । ”
“आफ्नो अधिनमा भएका दासहरुबाट उनीहरुको क्षमता र शक्तिभन्दा बढी काम नलेऊ ।”
“व्याज लिनु यस्तो महापाप हो जस्तो कसैले आफ्नो आमासंग व्यभिचार गर्छ ।”
“अरु प्रति आफ्नो व्यवहार त्यस्तै राख जस्तो कि अरुबाट तिमी आपेक्षा गर्छौ ।” 
अनुवादकः अजिजुर्रहमान अन्सारी

DiscoverIslamNp

DiscoverIslamNP is specifically for Islamic education. The best way to provide authentic Islamic education through DiscoverIslamNP is to adapt to the will of Islam. The main goal of this site is to quench the thirst for Islamic knowledge and offer the right solution to various religious Problems.

Leave a Reply